Setopana.com
पुर्व गृहमन्त्री लामिछाने कास्की प्रहरीको हिरासतमा, भोलि अदालत उपस्थित गराईने, पोखरामा लामिछानेको पक्षमा प्रर्दशन

सहकारी रकम घोटलामा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतमा रहेका छन्।

 

शुक्रबार काठमाडौंमा पक्राउ गरी स्थलमार्ग हुँदै शनिबार विहान पोखरा ल्याईएका पुर्व गृहमन्त्री समेत रहेका लामिछानेलाई विहान पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा स्वास्थ्य जाँच गरी प्रहरीको हिरासतमा राखिएको हो। लामिछानेलाई भोलि अदालत खुलेपछि उपस्थित गराईने प्रहरीले जनाएको छ। आफ्ना सभापति पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता आन्दोलित बनेका छन्। केन्द्रीय उपसभापति स्वर्णिम वाग्ले, सह प्रवक्ता मनिष झा लगायतका नेताहरु पोखरामा नै रहेर आन्दोलनको तयारी गरिरहेका छन्। उनीहरूले आज जिल्ला प्रशासन कार्यालय अगाडी प्रर्दशन समेत गरे । प्रर्दशनको क्रममा सहभागी नेता कार्यकर्ताले प्रधानमन्त्री केपी ओलीका विरुद्ध नारावाजी गर्दै 

आफ्ना नेता कार्यकर्ता जोगाउन सरकारले रविलाई पक्राउ गरेको उनीहरूको भनाइ छ ।

 

उनीहरूले धनराज गुरुङ, ऋषिकेश पोखरेललगायतलाई सरकारले जोगाउन लागेको आरोप लगाएका छन् । गुरुङ र पोखरेलको फोटोसहित उनीहरू प्रदर्शनमा उत्रिएका थिए ।

 

सहकारी पीडित र रास्वपा कार्यकर्ताले प्रदर्शन आयोजना गरेपछि दुवै पक्षसँग कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले छुट्टाछुट्टै छलफल गरेका छन्। अदालती प्रक्रियामा गइसकेको मुद्धामा सहयोग गर्न उनले दुवै पक्षलाई अपिल गरे।आन्दोलन भन्दा पनि अनुसन्धान र अदालती प्रक्रियामा सहयोग गर्न आग्रह गरेको पनि उनले बताए।

 

सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थामा सर्वसाधारणले राखेको बचत रकम गैरकानुनी रुपमा गोर्खा मिडियाले सञ्चालन गरेको ग्यालेक्सी टेलिभिजनमा लगेको भन्दै उजुरी परेको ८ महिनापछि लामिछाने  पक्राउ परेका थिए। 

 

सूर्यदर्शन सहकारीमा १८ हजार ७ सय जनाले बचत गर्न राखेको १ अर्ब ३५ करोड ५३ लाख रुपैया अपचलन गरेको मुद्धा अहिले अदालतमा विचाराधीन छ। उक्त अपचलनका मुख्य योजनाकार मानिएका जिबी राई फरार छन् ।

 

लामिछानेको पक्षमा गोरखा र काठमाडौंमा समेत नेता कार्यकर्ताले प्रर्दशन गरेका छन्।

प्रकाशित मिति: शनिबार, कात्तिक ३, २०८१  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update