Setopana.com
रास्वपाका सभापति लामिछाने र पूर्व डीआईजी जोशी थप ७ दिन हिरासतमा रहने

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वगृहमन्त्री रवि लामिछाने अनुसन्धानका लागि थप ७ दिन हिरासतमा रहने भएका छन् ।

सोही प्रकरणमा यस अघि नै पक्राउ परेर हिरासतमा रहेका पूर्व डीआईजी छविलाल जोशी र लिला पछाईलाई आजैदेखि लागु हुने गरी थप ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।पक्राउ परेको दिन देखि नै गणना हुने गरी म्याद थप भएको जिल्ला अदालत कास्कीका सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए । कात्तिक २ गते शुक्रबार पक्राउ परेका रविलाई ४ गते पक्राउको मितिबाट गणना हुने गरी अदालते ६ दिन म्याद थपेको थियो । न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले लामिछानेलाई थप सात दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो। बिहीबार जिल्ला सरकारी वकिल कार्यालयकी न्यायधिवक्ता कमला काफ्ले, सहायक जिल्ला न्यायधिवक्ता विपिनराज तिवारी र शान्तिदेवी शर्मा तथा कानून व्यवसायीहरू युवराज पराजुली र वेदबहादुर विष्टले बहस गर्दै उनीहरूलाई थप २५ दिन हिरासतमा राखेर अनुसन्धान गर्नुपर्ने माग दाबी गरेका थिए । 

लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू नारायण घिमिरे, हरिप्रसाद सुवेदी तथा अधिवक्ताहरू नारायण कँडेल, सांसदसमेत रहेकी सोविता गौतम, पदमराज शर्मा र मधुकुमार चौलागाँई र जोशीका पक्षबाट अधिवक्ता जगन्नाथ ढकालले बहस गरेका थिए । लामिछानेलाई थप ७ दिन हिरासत राख्न अनुमति दिएपछि पार्टीका कार्यकर्ता आक्रोशित भएका छन् । उनीहरुले निषेधित क्षेत्र प्रवेश गर्ने प्रयास गर्दा तनाव बढेको छ । म्याद थपको सूचनासँगै प्रदर्शनकारी आक्रोशित भए ।

यसैविच म्याद थपका लागि सभापति  लामिछाने र पूर्व डीआईजी जोशीलाई कास्की जिल्ला अदालतमा लगिएको बेलामा पोखराको मुस्ताङचोकमा कास्कीका सहकारी पीडितले प्रदर्शन गका छन् ।उनीहरुले रविको गिरफ्तारीकाविरुद्ध रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेर अदालतलाई दवावमा राख्न खोजेको भन्दै यस्तो प्रदर्शन गरेका हुन ।सहकारी पिडितले रित्तो थाल ठटाएर सडकमा प्रर्दशन गरेका छन् ।उनीहरुले रवि जीबी को हुन रु सहकारी ठग हुन भन्दै नाराबाजी गरेका हुन् । प्रदर्शनकारीलाई मुस्ताङचोक भन्दा पश्चिम तर्फ जान दिइएको छैन् । 

पोखरास्थित सूर्यदर्शन सहकारीको रकम हिनामिना प्रकरणमा पक्राउ परेका रास्वपा सभापति  लामिछाने र पूर्व डीआईजी जोशीलाई कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो ।
 

प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १६:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update